Blog Post

सररर पानी घट्टमा… [दृश्य कथा]

प्रवीण रानाभाट/पहिलोपोस्ट 
13th June 2023 | ३० जेठ २०८० 

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

घुमिरहेको घट्ट र पानीको एकोहोरो आवाज। टिनको छतमुनि व्यस्त छिन् विपना। उडेको पिठोले उनको अनुहारदेखि टाउकाको सप्को पनि ढाकिनै लागेको छ।

यो दृश्य कथा बाजुराको हो। बीस वर्षीया विपना थापाको रोजगारी यसैबाट चलेको छ। त्रिवेणी नगरपालिकामा रहेको उनको पानी घट्टले आधा घन्टामा २५ किलो मकै पिस्छ। त्यसैबाट उनको गुजारा चलिरहेको छ। पैसाभन्दा पनि ल्याएको अन्नको हिस्सा ज्यालाका रुपमा आम्दानीको स्रोत हुने विपना बताउँछिन्।

बाजुरामा देखिएको यसखाले दृश्य मुलुकका लागि नौलो चाहिँ होइन। बिजुली बत्ती नहुँदा सबैतिर विकल्प यही थियो। कतिपय दुर्गम ग्रामिण भेगमा अहिले पनि निर्विकल्पै हो यो। त्यसैले परम्परागत प्रविधि शहरी क्षेत्रका लागि अन्जानको विषय भए पनि ग्रामिण भेगका लागि नयाँ होइन। पहाडका ग्रामिण क्षेत्रमा घुमफिर गर्नेले भने पक्कै देखेको हुनुपर्छ।

त्रिवेणी नगरपालिकाको मलागाडमा पुग्दा विपना पानी घट्टमा व्यस्त थिइन्। उनी दिनभर मकै, कोदो गहुँ लगायतका अन्न पिस्छिन्। मानिसहरु २/३ घण्टा हिँडेर घट्टसम्म धाउने पनि रहेछन्। ‘यहाँका मानिससँग पैसा त हुँदैन। त्यसको साटो पिठो नै दिनुहुन्छ,’ विपनाले भनिन्। त्यसैबाट उनको घर चल्न सघाएको छ।

पानी घट्ट नजिकै छ मलागाड जलविद्युत। लघु जलविद्युत भएकाले घरमा बिजुली बाल्न मात्र पुग्छ। त्यहीँ काम गर्छन् गोरख थापा। यो घट्ट उनकै हो। विपना चाहिँ उनकी भतिजी। गोरख जलविद्युतमा व्यस्त रहने भएकाले घट्टा विपनाले चलाउँछिन्।

सुदूर पश्चिम मुलुककै दूरको प्रदेश। सुदूर पश्चिमको पनि दुर्गममा पर्छ बाजुरा। यहाँ धेरै ठाउँमा अझै पनि न बिजुली पुगेको छ न मोटरगाडी नै। दैनिक जीवनका लागि अति आवश्यक पर्ने कुटानीपिसनीका आधुनिक मिल पाइँदैनन् यहाँ। त्यसले अझै पनि घट्टमा आश्रित छन् मानिसहरु। यहाँको दैनिकीसँग घट्टको नाता बलियो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more