Blog Post

बाघ आयो, माइ लर्ड!

प्रवीण रानाभाट/पहिलोपोस्ट 
20th May 2023 | ६ जेठ २०८० 

576Shares

facebook sharing button 547

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

‘बर्दिया जाने हो?’

प्रश्न अप्रत्यासित थियो। जवाफ दिन नभ्याउँदै फेरि बोली सुनियो- ‘के कसो मिलाउने हो, ठीक पार्नु।’

फोन काटियो।

‘हुन्छ’ या ‘हुँदैन’को जवाफ दिन नपाउँदै संवाद टुङ्गिसक्यो। फोटो पत्रकारितामा जमिरहेका स्कन्द गौतम दाइको ‘अफर’लाई ‘नो’ भन्नुपर्ने कुनै कारण थिएन। भर्खरै हिमालमा हिउँको चिसो अनुभूति लिएर काठमाडौं फर्किएको थिएँ। लगत्तै तात्तातो भूगोलको यात्राको अफर।

मिसन- राजापुर। भ्यालु एड चाहिँ बर्दिया नेसनल पार्क।

‘फायर एन्ड आइस!’

करिब यस्तै महसुस भइरहेथ्यो। काठमाडौंमा क्यामरा भिरेर गरेको भागदौडभन्दा फरक थियो सिन्धुपाल्चोकको पाँचपोखरी यात्रा। टन्न लुगा गुँथेर हिउँसँगको पैठेजोरीमा कठाङ्ग्रिएको म लुगा फुकाल्दा पनि चरक्क पोल्ने समथर भूमिको यात्राका लागि जुटिसकेको छु। समुन्द्री सतहबाट चार हजार २ सय मिटर माथि रहेको पाँच पोखरीको हाइ अल्टिच्युडबाट फर्के लगत्तै म १ सय ५२ मिटर अल्टिच्युडको समथर भूमि जाँदैछु। भूगोलको यति ठूलो ‘भेरिएसन’ मेरा लागि आफैँमा रोचक हुँदैमात्र थिएन, अप्रत्यासित पनि थियो। आउनुस्, यही थ्रिलङ यात्रामा सहभागी हुनुस्।

+++

टाउका माथि आइपुगेको छैन सूर्य। तर राप यति कडा कि खपिनसक्नु। बिहानै हो, नेपालगञ्ज पुगेको। साढे ९ बज्दा तापक्रम देखायो ३५ डिग्री। हिमालपारी लाग्ने पाँचपोखरीको वातावरणभन्दा ठ्याक्कै विपरीत।

बैशाखमा हनहनी पसिना नआए त के नेपालगञ्ज?

मानिसहरुले यसै भन्ने गरेका होइन रहेछ। एकताका त समाचार नै आएको थियो- नेपालगञ्जमा मानिसहरु ट्याङ्कीको पानी ग्लासमा हाल्छन्। त्यसमा चियापत्ती र चिनी मिसाएपछि चिया तयार। उमाल्नै नपर्ने! चिया तयार भयो भएन थाहा छैन तर गर्मीको असिन पसिन चाहिँ बिछट्टै।

गन्तव्य पुग्न जति कठिन हुन्छ नि उत्ति नै धेरै उपलब्धी पाउँदा रोमाञ्चित होइन्छ। त्यसमाथि कामको असिनपसिन र भ्याइनभ्याइबाट फुर्सद निकालिसकेकाले शोक न सुर्ता भोक न भकारी झै अवस्था। त्यसैले जे भोगिँदैछ नरमाइलो मान्नुपर्ने छैन। जे हुँदैछ फरक अनुभूति।

राँझा विमानस्थलबाट सुरु हुने यात्राको पहिलो गन्तव्य हो बर्दियाको राजापुर।

राजापुरका किस्सा अनेक। गाउँगाउँसम्म ट्र्याक्टर पुग्नु अघि कर्णाली र सुदूरका गाउँको कारोबारको केन्द्र। ‘जनयुद्ध’मा माओवादीको सत्ताको ‘राज’। कृषि उत्पादनको गर्व।

सँगै दुर्दशाका कथा पनि। हरेक बर्खायाम भेलसँगै अत्यास लिएर आउने रहेछ यहाँ। तीसँग जोडिएका कथा त कति कति। तिनै कथामध्ये कति समाचारका ‘हेडलाइन’ बने कति यसै गुमनाम।

अखबार शब्द कुँदिए झै चित्रमा कोरिएका छन् कि छैनन् यहाँको चरित्र? बाढीको व्यथालाई चित्रबाटै चिनाउन जुटेका छन् कलाकार मोहम्मद युनस गुना। हरेक वर्ष बाढीले पुर्‍याउने क्षति कसरी कम गर्न सकिन्छ? विद्यालयको भित्तालाई क्यान्भास बनाएर उतारे उनले। उनको ‘मुरल आर्ट’ कर्मले हामीलाई ल्याइपुर्‍याएको हो राजापुरसम्म।

राजापुर त टाढाको कुरा, सिंगो बर्दिया नै मेरा लागि नौलो भएकाले यात्राको आयाम सीमित नहोस् भन्ने चाहना हुने नै भयो।

+++

बर्दियाको नामसँगै आजकल बाघ जोडिन्छ। मध्यवर्ती क्षेत्रका मानिसको पीडाको कथा होस् या संरक्षणको सफल नमुना – बाघलाई नसमेट्दा ती विषय अर्थहीन हुन्छन्। बर्दियाको बाघप्रति मेरो पनि रुची हुने नै भयो। लियोनार्दो डी क्याप्रियोदेखि सेलेना गोमेज हुन् या बेलायती प्रिन्स ह्यारीसम्मले नेपाललाई सम्झिँदा बर्दिया र बाघलाई भुल्दैनन् होला।

चिडियाखानमा थुनिएको बाघलाई त कयौं पटक नियालेको छु। तर जंगलमा राज गरिरहँदाको दृश्य, मेरा लागि निक्कै टाढाको विषय। बर्दिया पुगेपछि निर्वाध जंगलमा विचरण गरिरहेको बाघ देख्न। पाइयो भने? मन यसै रोमाञ्चित। आफ्ना नाङ्गा आँखाले देखोस् अनि मनमनै भन्न पाइयोस् – ‘बाघ भनेको त यस्तो पो त!’

बर्दिया राष्ट्रिय निकुञ्ज जानका लागि बाहाना बन्यो बाघ। बाघका किस्साहरु धेरै सुनेको र पढेकै हो –

• मोटरसाइकलमा गइरहेको मान्छेलाई बाघले तान्यो रे!

• गाडी भित्रकै मानिसलाई थुत्यो रे!

• घाँस दाउरा गर्न गएकालाई मार्‍यो रे!

यी सबे ‘रे’ले मन ढक्क फुल्ने भइहाल्यो। बाघको त्रासले खेदेकै छ। तर, रहर पनि छ – बिन्दास पारामा जंगलमा राज गरिरहेको प्राणीलाई हेर्ने। क्यामरामा कैद गर्ने।

+++

यही क्षेत्रलाई कर्मभूमि बनाएर बसेका सुशान्तलाई पनि जुरेको रहेनछ बाघ हेर्न। उनी हामीसँगै मिसिने भए। जीप सफारीका लागि तयार छ। घना जंगलभित्र जीपको सफारीमा पनि मेरा लागि पहिलो। उत्साही नहुने त कुरै भएन।

बाघको फोटो त खिच्ने। तर, कसरी?

कहिल्यै ‘वाइल्ड लाइफ फोटोग्राफी’ नगरेकाले एकखाले औडाह अनुभूति भइरहेको छ। सँगै गएकाहरु अनुभवी छन् भने चिन्ता किन?

सोधेँ।

दीपकले मज्जासँग बताए त्यहाँको बारे। जंगल सफारीका उनी गाइड। उनी गाइडमात्रै होइनन्, फोटोग्राफर पनि हुन् भन्ने थाहा पाउन कठिन भएन। उनले बोकेको लेन्सले प्रश्न सोध्न नपर्ने बनाइसकेको थियो।

दीपक राजवंशी उनको पूरा नाम। उनका धेरै ‘वाइल्ड लाइफ’ फोटोहरु चर्चित भइसकेका रहेछन्। पछिमात्रै थाहा पाइयो।

+++

ज्यादै उत्साही हुनु कहिलेकाहीँ निक्कै महँगो पर्छ। बाघ खोज्ने ‘एक्साइटमेन्ट’कै असर हुनुपर्छ रातभर सुत्नै सकस। दिनभरको थकान बिसाउन निकुञ्जसामुको बर्दिया भिल्लाको सुविधाजनक बास। तर, रातभर निन्द्राकै लागि संघर्ष। अनि लगातार गन्थन नै गन्थन – बाघ आयो भने यसरी र उसरी खिच्ने।

‘डर पनि लाग्ला नि।’

स्कन्द दाइ बेलाबेलामा तर्साउनेगरी भनिहाल्थे। सम्झिँदै झसङ्ग पो भइयो। सिनेमाका दृश्यमा बाघले खेदेको त देखेकै हो। ओहो कति भयपूर्ण! यहाँ भने डर र उत्साहले हामीलाई एकैसाथ डोर्या इरहेको छ – बाघका दृश्यलाई लेन्सबाट कैद गर्न।

बिहानै उठ्न आर्लाम सेट गर्नै परेन। झिसमिसेदेखि नै चराको चिरविर चिरविर। त्यसमाथि लक्ष्य जोखिमवाला। बिहानैबाट सुरु भयो सफारी। कम्तिमा १२ घण्टा जंगलै जंगलको यात्रा।

‘जति जंगलभित्र पस्न सकियो बाघ भेट्ने सम्भावना उत्तिकै हुन्छ।’

दीपकले सुनाएका थिए।

‘साइलेन्ट। साइलेन्ट,’ यस्तै भनिरहन्थे दीपक।

बाघ साह्रै लजालु हुन्छ भन्ने उनको कुराले म अलमल्ल परेँ। लजालु स्वभावकै कारण भेट्टाउन मुस्किल रहेछ। मन खोलेर सास फेर्न पनि डराउनुपर्ने। जनावर हामी भएतिरै आक्रमण गर्नै पो आउने हो कि भन्ने त्रास।

गाडी चलिरहेकै छ। हामी क्यामरा क्लिक क्लिक गरिरहेका छौं। कहिले चरा त कहिले अरु जनावर।

चित्तल, मृग, बाह्रसिंगे दिनभर कैद भए क्यामेरमा। तर, भेट्टाउनु छ बाघलाई।

दिउँसै हामीले मचान भेटेको हो। त्यहीँ चढेर बाघका गतिविधि हेर्ने रहेछन् संरक्षणमा जुटेका र पर्यटकहरु। अलिक पर मानव निर्मित पोखरी। गर्मी चर्किएपछि जनावर पानी पिउन त्यहीँ आउने रहेछन्। हपहपी गर्मीमा जंगलभित्र रहेका हामी चाहन्थ्यौं – बाघलाई छिट्टै तिर्खा लागोस्। अनि पानी खान आइहालोस्।

लगातार चार घण्टा मचानमा उक्लिएर पर्खियौं।

अहँ! बाघ देखिएन। हामी भने जतिखेर पनि अलर्ट अवस्थामा। त्यसैले यहाँ कुर्दाको मजा अलग्गै – आशा र अनिश्चितताले। काठमाडौंमै व्यग्र प्रतीक्षा गरेर फोटो खिचेको अनुभवभन्दा विल्कुलै अलग। न बोल्न मिल्ने! न सम्पर्क गर्न! मोबाइल नेटवर्क नै भेटिएन भित्री जंगलमा।

जंगल भित्रै अर्को पोखरी पनि देखियो। त्यता कतै देखिन्छ कि बाघ? बाघका दृश्यले दिमागबाट हट्न चाहेको छैन तर आँखा सामुन्ने आउने कुनै संकेत छैन। घाम डुब्न लागिसक्यो।

कतै बाघ नदेखेरै पो काठमाडौं जान पर्ने हो कि?

जंगलभित्र डरभन्दा चिन्ताले पो डेरा जमाउला जस्तो भयो।

साँझ ६:३० बजेसम्म नफर्किए निकुञ्जको जरिवानामा पर्नुपर्ने। हामीलाई फर्किनु छ। नियमको डण्डाबाट बच्नु छ।

त्यसो त ‘वाइल्ड लाइफ फोटोग्राफी’ सजिलो विधा होइन। बाघको फोटो खिच्न २५ दिनसम्म जंगल ढुक्नेका कथा हामीले सुनेकै हो। हाम्रा लागि बाघ उदार भएर किन आउँथ्यो पहिलो दिनमै!

फर्कियौं फेरि होटल। अघिल्लो अनिदो रात एक्साइटमेन्टले थियो। दोस्रो रात निराशाको।

बाघ खोइ?

प्रश्नले लखेटिरहेको छ हामीलाई। बिहानैदेखि जंगलमा कुरेको हो त। तर, देखिएन।

अब के गर्ने?

काठमाडौं जाने? कि अझै कुर्ने? हिसाबकिताब थाल्यौं – यसैगरी पछि आउने र बाघ खोज्ने। ओहो! हाम्रो खर्च कति बढ्ला? अहिलेको भन्दा झन् खर्चिलो हुनसक्छ। अनि यसैगरी बाघ भेटिएन भने त्यतिखेर पनि?

जसरी पनि बाघको फोटो त खिच्नै पर्‍यो। विकल्प सजिलो थियो – फेरि क्यामेरा भिर्ने। फर्किने जंगलतिरै। अब त झन् दुई जनामात्रै बाँकी। सुशान्तले बाघ देखिने आशा मारे। अनि घर फर्किए।

जंगलमा जति भित्र गइयो त्यति नै लागिरहेको छ आज पनि नभेटिने पो हो कि। स्कन्द दाइको उत्साहले बेलाबेला गुमिसकेको आशा ज्युँदो बनाइरह्यो। तर भेटिन्न त बाघ! पाँच घण्टाको प्रतीक्षा पूरा भइसक्यो। आज त हिजोको भन्दा फरक रुटमा छौं हामी। जंगलभित्र १५ किलोमिटर भित्र पुगेपछि लाग्यौं पैदल। कर्णालीको तिरमा पुगेपछि दीपकले सुनाए – ‘अब त बाघ भेटिन्छ कि के हो? मलाई त त्यस्तै लाग्यो।’

उनको आशाले हामीलाई चङ्गा बनायो।

‘बाघ आयो बाघ!’

सुन्नसाथको उत्साह अलग।

लेन्स सोझ्यायौं। लगातार क्लिक क्लिक क्लिक…।

‘यो त एकदमै कम देखिने भाले बाघ हो। भुडी पनि कति ठूलो? भर्खर सिकार भ्यायो कि क्या हो?,’ दीपकले आँकलन गरे।

बाघ मोटै थियो। हामी बाघभन्दा ५ सय मिटरको दुरीमा थिएम् होला। झाडी नजिक देखिएको केही सेकेन्डमै बाघ पानीमा बस्यो।

नुहाएर निस्किएला भन्ने हाम्रो अनुमान। हामी नुहाएर निस्किएको बाघको दृश्यका लागि कुर्‍यौँ। घण्टौं बस्दो रहेछ पानीमा। त्यसपछि निस्कियो। नियालिरह्यौं उसका गतिविधि। फोटो र भिडियो खिच्यौं। त्यसपछि बाघ जंगलकै त्यही रुटबाट फर्कियो जुन बाटोबाट आएको थियो।

केही बेरमै अर्को बाघ पनि आउँदै रहेछ। दीपकले त्यसको संकेत बुझिहाले। उनका अनुसार दोस्रो बाघ चाहिँ ‘फिमेल’। उसैगरी त्यो बाघ पनि पानीमै पस्यो।

एकछिन अघिमात्रै जंगलतिर लागेको बाघ फेरि पोखरीतिरै फर्कियो। जोडी नै होला सायद। दुवै जलक्रिडामा। केही बेरमा बाघभन्दा माथितिरबाट एउटा ड्रोन उडिरहेको देखियो। ड्रोनको आवाजको असर हुनुपर्छ पानीमा रमाइरहेका बाघ बाहिर निस्किए। दीपकका अनुसार बाघ खिच्नका लागि बीबीसीका प्रतिनिधि ड्रोनसहित पुगेका हुन्।

बाघ फर्कियो। बाघ हेर्ने हाम्रो रहर पनि पूरा भयो। फर्किँदा चितुवा, गैडा, बाह्रसिंगे एकएक गरी टुप्लुक टुप्लुक देखा परे। बाघको दृश्य सिकारपछि मनबाट डर फरार भइसकेको थियो। क्यामरा ब्यागमा थन्क्याउँदै गर्दा एक किसिमको सन्तोषको अनुभूति भयो जुन शब्दले बयान गर्न सक्दैन। खिचेका दृश्यहरु रिभ्यू गरिरहँदा भित्रैदेखि धन्यवाद दिन मन लागिरहेको छ – त्यो कल र अप्रत्यासित अफरका लागि जुन हामी दुवैका लागि रोमाञ्चक रह्यो।


576Shares

facebook sharing button 547

twitter sharing button 26

pinterest sharing button
email sharing button
sharethis sharing button

https://www.facebook.com/v2.8/plugins/comments.php?app_id=226400844478478&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df25825931cf80e6%26domain%3Dpahilopost.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fpahilopost.com%252Ff81ea95baef4ee%26relation%3Dparent.parent&container_width=904&height=100&href=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20230520082845.html&locale=ne_NP&numposts=5&sdk=joey&version=v2.8&width=550

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more