Blog Post

जो धन कमाउन गए अस्तु बनेर फर्किए…

प्रवीण रानाभाट/पहिलोपोस्ट 
24th July 2021 | ९ साउन २०७८ 

70Shares

facebook sharing button 43

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर केही अनुहार पर्खाइमा थिए। हवाइजहाज चढेर आउँदै थिए कोही। तर, पर्खिनेहरूको अनुहारमा न उत्साह न खुसी। मलिन मुहार बोकेर उभिइरहेका हरेक पटक विमान फन्को लगाउँदै विमानस्थलतर्फ ओर्लदा हतास देखिन्थे।

नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडी ल्यान्ड हुँदासम्म केही आँखामा आँसु छछल्कियो। किनकि जसलाई उनीहरूले वर्षौँ कुरे उनीहरू खरानी बनेर फर्कँदै थिए। धन कमाउने असीमित आशा बोकेर उडेका उनीहरूलाई आफ्नालाई निराश बनाउने शव र अस्तुमा सीमित भएका थिए।

डुल्लु नगरपालिका १३ का लोकबहादुर शाही तीन वर्षअघि मलेसिया गए। दुई सन्तान र श्रीमतीलाई खुसी राख्न कमाउने सपनासहित। परदेशमा उनले जागिर पाए, सेक्युरिटी गार्डको।

मिहेनत गरे। खटन सहे। केही रकम कमाएका पनि हुन्। त्यसैबीच कोरोना भाइरसको महामारी फैलियो। त्यसैले बिदामा नेपाल आउने, परिवार भेट्ने योजना थाती रह्यो। १२ वर्षीय छोराले फोनमा पटक-पटक सोधिरहे – बाबा कहिले आउने? साथै १४ वर्षीया छोरीको पनि प्रश्न उही – हामीलाई नयाँ नाना र पापा लिएर कहिले आउने?

छोरा र छोरीको बोली टार्न नसकेर बिदा मिलाएका थिए। आउँदो दशैं तिहारपछि आउने वचन दिएका पनि थिए।

तर, आजभन्दा ठिक ३२ दिन अगाडि मलेसियाबाट खबर आयो -लोकबहादुर सुतेकै खाटमा मृत भेटिए।

कारण पत्तो छैन। न कुनै रोग थियो न बिरामी परेका थिए। कसैले सोचेका थिएनन् कम्पनीको सुरक्षामा खटिएका उनको ज्यान नै असुरक्षित थियो भन्ने। केही घण्टाका लागि आराम गर्न निदाएका उनी कहिल्यै नब्युँझने गरी अस्ताए।

नाना, पापा र घर खर्च टार्ने श्रीमती पुष्पा शाहीका लागि जम्मा गरेका केही रकम आएन। शाही काठको बाकसमा वस्तु बनेर फर्किए। एकअर्कालाई सम्हाल्नका लागि र एकअर्काको सहायता बन्न लोकबहादुरको परिवारनै आयो। उनीहरू एयरपोर्टबाट पशुपतितर्फ लागे प्रिय मान्छेको मृत शरीर र आँखामा आँसु बोकेर। दाहसंस्कारका लागि।

बागमतीमा खरानी बनेको शरीर बगाएर उनीहरू आजै दैलेख फर्कँदै छन्। अब लोकबहादुरका छोराछोरीले बुवा फर्किएको सपना देख्ने छैनन्।

यो अप्रिय नियतिको असर यो एउटा परिवारमा मात्र परेको कहाँ हो र? शाहीसहित २४ जनाको शव र ३ जनाको अस्तु आजै मलेसियाबाट काठमाडौं ल्याइयो। बाकसभरी पैसा र आफन्तका लागि कोसेली बोकेर घर फिर्ने योजना बनाएकाहरू आफैँ बाकसमा पोको परेर आए।

हरेक वर्ष नेपालीहरु रोजगारी खोज्दै खाडी मुलुक धाउँछन्। निश्चित छैन उनीहरूमध्ये कति बाकस बोकेर फर्कन्छन् अनि कति बाकस बनेर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more