प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट
12th May 2021 | २९ बैशाख २०७८
215Shares
117
आज अन्तर्राष्ट्रिय नर्स दिवस। संसारभर यो दिवसमा नर्सहरु सबैभन्दा ठूलो युद्ध मैदानमा छन्। कोरोना भाइरससँगको युद्धमा उनीहरुको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन। अस्तव्यस्त छन् अस्पताल। त्यही अभाव र संकटबिच मैदानमा भिडिरहेका नर्सहरुको मेहनतलाई फोटोमा उतार्न पुगेँ – टेकु अस्पताल।
दिउँसो १ बजेको थियो। डाक्टर र स्वास्थ्यकर्मी पीपीईमा रहेरै उपचारमा तल्लिन थिए। नर्सहरुको काम खिच्न गए पनि मेरो ध्यान चाहिँ अस्पतालको परिसरमा देखिएको एउटा एम्बुलेन्सतिर खिचियो। एम्बुलेन्स भित्र एक जना विरामी थिए। अक्सिजनको सपोर्टमा उनलाई भित्रै राखिएको थियो। कीर्तिपुरका विरामीलाई एम्बुलेन्समा आजै दोस्रो पटक टेकु ल्याइएको रहेछ। बिहान यहाँ यसैगरी ती विरामीलाई ल्याइएको थियो। तर, उपचारका लागि ठाउँ थिएन। भित्र त परिजावस्, अस्पताल बाहिर पनि उपचारका लागि कुनै आधार मिलेन। त्यसपछि उनलाई लिएर एम्बुलेन्स हुइँकियो जनमैत्री अस्पताल बालाजु। त्यहाँ पनि मिलेन ठाउँ। त्यसपछि हुन्निएर शिक्षण अस्पताल महाराजगञ्ज पुगे। त्यहाँ पनि दोहरियो उही अवस्था। अनि वीर अस्पताल पुगे। अस्पतालमा राख्ने ठाउँ मात्र होइन, अक्सिजन पनि दिन नसक्ने बतायो। त्यसपछि रहेछ फेरि टेकु नै पुर्याइएको।
टेकुमा पुग्दा एम्बुलेन्सभित्र अक्सिजन सकिन लागेको थियो। उनलाई लिएर अस्पताल अस्पताल चहार्नेहरु आत्तिँदै थिए। उनीहरुले अक्सिजन मात्रै राखेर भए पनि उनलाई त्यहाँ राख्न अनुनयविनय गरे। तर, अस्पतालमा ठाउँ नै छैन, के गर्ने? अक्सिजन सकिएला भन्ने डर बढ्दै गएपछि उनीहरुमा त्यहाँ अडिने धैर्यता रहेन। त्यसपछि त्यहाँबाट अन्तै लाग्यो एम्बुलेन्स – सायद अर्को कुनै अस्पतालमा अनुनयविनय गर्न। थाहा छैन, त्यसपछि के भयो।
ती विरामीलाई ठाउँ मिलाउन सकिन्छ कि भनेर आफैँ पनि यताउता गरेँ। तर, मिलाउने ठाउँ कतै थिएन।
अस्पताल परिसरभित्रै अर्को छेउमा थियो एउटा भ्यान। भ्यानभित्र एक जना महिला चिच्याउँदै थिइन् – उनको लोग्नेलाई उपचार गर भन्दै। गए राति सास फेर्न असाध्यै गाह्रो भएपछि स्वास्थ्य मन्त्रालयको हटलाइनमा उनीहरुले कल गरे। खबर पाए – आर्मी हस्पिटल लैजाउ। त्यसपछि उनीहरुले कलंकीका भीमसेन पोखरेललाई सैनिक अस्पताल छाउनी पुर्याए। तर, सेनाले उनलाई किन लिन्थ्यो। त्यहाँ निक्कै पहल गरेपछि आरडीटी परीक्षण भने सेनाले गर्दियो। त्यसमा देखियो पोजेटिभ।
त्यसपछि उनीहरुले पनि चहारे अरु अस्पताल। कतै नमिलेपछि टेकु अस्पताल ल्याए। उनीहरुसँग अक्सिजनको सिलिन्डर थियो। त्यसैलाई जोडेर कुनै कुनामा राखिदिन आग्रह गरे। तर, ठाउँ व्यवस्थापन भएको रहेनछ।
यिनै घटना चलिरहेको बेला एक्कासी गाडीभित्रबाट महिला चिच्याएको सुनियो। उनको चिच्याहटले सबैको ध्यान खिच्यो। डाक्टर र स्वास्थ्यकर्मी दौडिँदै भ्यानमा पुगे। भ्यानबाट उनलाई निकाले। अस्पतालको गेटमा पुर्याउँदा नपुर्याउँदै भीमसेनको मृत्यु भयो।
यहाँसम्म त एउटाखाले दृश्य थियो। यो घटनाक्रम अस्पताल बाहिरै अक्सिजनको सहार लिएर उपचार गरिरहेका विरामीहरु सबैले देखिएरहेका थिए। उनको शव त्यहीँ रह्यो केहीबेर – बाँच्ने आशाले अस्पताल प्राङ्गणमै अक्सिजनको सहारामा सास टिकाइरहेकाहरु त्यो दृश्यसँग भयभित देखिन्थे। उनीहरु हेर्न चाहिरहेका थिएनन् – नजिकैको त्यो मृत्यु।
केही समयपछि प्लास्टिकमा लपेटेर स्टेचरमा उठाइयो र राखियो – त्यही नजिकै।
यी दृश्यहरु देखिरहँदा एक किसिको डर अनुभूति भयो। क्यामरा उचाल्न पनि सकस। अनि एकपटक सरकारसँग झोक्किन मन लाग्यो – यस्तो हविगत भइरहँदा पनि किन देखिरहेका छैनौं?
नर्सहरुको मेहनतको सकारात्मक दृश्य खोज्न हिँडेको म। आखिर आफ्नै अगाडि भएको मृत्युको खबर लिएर फर्किन बाध्य भएँ। यो हालत टेकुको मात्र होइन, वीर, शिक्षण र अरु अस्पतालमा पनि दोहरिरहेको छ।

Insights, updates, and stories from the blog.
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५ 750Shares 738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…
Learn more