Blog Post

कागजी विकास नै लजाउने गरि लागेको लाम, जसले प्रतीक्षामा रात र दिन जोडे…

प्रवीण रानाभाट/पहिलोपोस्ट 
18th February 2021 | ६ फागुन २०७७ 

107Shares

facebook sharing button 85

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

काठमाडौं : चकमन्न सडक। रातको ११ बजेको छ। गिरिराज पुन मगर चुच्चेपाटी नजिकैको भाटभटेनी सुपरमार्केट बाहिर छन्। दाङका उनी गोंगबु बस्छन्। तर, केही दिन यता उनी चाबहिलतिर धाइरहेका छन्, दिनमात्र होइन, रातमा पनि। फाट्टफुट्ट गुडेका गाडी र सल्बलाइरहेका कुकुरबाहेक सबै निन्द्रामा। गिरिराज चाहिँ निदाइएला कि भन्ने पीरमा।

यसै भुलिरहँदा एक बज्यो। फागुन ५ को त्यो रात अब भने उनका केही साथीहरु पनि उनीसँगै जोडिए। दुई बज्दा त चहलपहल नै सुरु भइहाल्यो। राति जति गहिरिँदै गयो, मानिसहरुको चहलपहल बाक्लिँदै गयो। बिहान त भाटभटेनी स्टोरदेखि ह्यातको गेटसम्म मानिसहरु खचाखच। 
रातिमात्र होइन, त्यस दिन बिहानै ६ बजे ह्यातको गेट पुगेका थिए उनी। ठेलमठेल गर्दै बेलुकासम्मै लाइनमा बसिरहे। कुर्दाकुर्दा पालो आएन।
‘आजलाई कोटा सकियो। भोलि आउनुस्।’

भित्रबाट यस्तै संदेश आयो। त्यसपछि फर्किनुको विकल्प रहेन। फर्किँदा यहाँसम्म बसेर पनि पालो नपाउँदाको पीडा थियो। र, साथमा थियो छाप लगाएर पठाइएको टोकन। 

भोलि आउनु नै छ भने किन आजै नबस्ने? उनले यस्तै सोचे र हान्निए चाबहिलतिर। एउटा रात र अर्को दिनको सुरुवात उनले अनिदो भएरै पार लगाउँदै थिए। 

कागपत्र बोकेर लाइनमा बस्दै गिरिराज पुन मगर।


+++ 

मोरङका प्रवेश सुवेदीको कथा पनि उस्तै छ। एक साता अघि ८ जना साथीहरुको समूहसहित काठमाडौं आएका प्रवेश पनि त्यहीँ भेटिए। गौशालाको एउटा गेस्ट हाउसमा साथीहरुसँगै बस्छन् उनी। यहाँ लाइन लाग्न थालेको पनि धेरै दिन भइसक्यो उनले। 

लामवद्ध भएर प्रतीक्षा गरिरहँदा उनी कहिले मोबाइलतिर हेरिरहेका थिए त कहिले हातमा रहेको नोटबुक। लाग्थ्यो उनी केही कण्ठ पारिरहेका छन्। एकपटक लाइनबाट उनी ह्यात होटलको गेटसम्मै पुगे। फलामे गेटसँगै सुरक्षाकर्मीको कडा निगरानी थियो। बल्लबल्ल गेटमा पुग्दा उनले पालो पाएनन्।

ह्यात बाहिर एकअर्कासँग कुरा गर्दै प्रवेश सुवेदी र गिरिराज पुन मगर (हरियो ज्याकेटमा) 


‘भोलि आउनुस्। आजलाई कोटा पुग्यो।’

भित्रबाट आएको यस्तै सन्देशले उनलाई निरास बनायो। भोलिपल्ट फेरि दोहरियो पुरानै लाइन। त्यही पङ्तिवद्ध भएर बसिरहँदा गेटबाट भित्र छिर्न भ्याए। करिब ७ घन्टा ह्यात होटलको परिसरमा समय बितेपछि थाहा पाए, त्यस दिन पनि कोटा सकियो। आज बिहान फेरि उनी लाइनमा भेटिए।
+++
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालको तारिफ माथि तारिफ गरिरहँदा पूर्वी काठमाडौंको ह्यात होटलमा हरेक दिन यसैगरी गिरिराज र प्रवेशहरु ठेलमठेलमा व्यस्त थिए। लाइन लागिरहेका थिए। अनि घोकिरहेका थिए पाठ। सबैमा एउटैखाले हुटहुटी थियो – फाइनलबाट उम्किन सकियो भने भाग्य खुल्छ। देश छोड्न पाइन्छ। वेरोजगारको बिल्ला मेटिन्छ।

देश समुन्नत र विकासको मार्गमा हिँडिरहेको प्रधानमन्त्रीको दावीका खबरहरु उनीहरुको मोबाइलमा पनि नझुल्केका होइनन्। तर, ती खबरहरु हेर्दै उनीहरु खिस्स हाँस्थे र प्रतीक्षा गर्थे दुबई पुग्ने भाग्योदयको। 

‘यहाँ काम मिल्ला भन्ने थियो। तर दुई वर्ष पूरै बेरोजगार भइयो,’ उमेरले २५ वर्षमात्र पूरा गरेका गिरिराजले भने। त्यसो त उनीसँगै बैदेशिक रोजगारीका क्रममा कतार पुगेको अनुभव छ। नेपालमै केही काम मिल्छ भन्ने आशा लिएर कतार छाडेका उनी दुई वर्ष पूरै काम बिहीन बने।  ‘केही नलागेपछि उतै फर्किने सोच आयो,’ उनले सुनाए।

फेरि विदेशिने सपना बुन्न थालेका उनले एउटा विज्ञापन देखे – फ्री भिसा, फ्री टिकेट।

पत्रिकाको कटिङ लिएर उनी म्यानपावर कम्पनी पुगे। पूर्व परीक्षा पास गरे। र, फाइनल अन्तर्वार्ताका लागि अनिँदो रात काट्दै गरिरहे प्रतीक्षा।  
अन्तर्वार्ताको आज अन्तिम दिन। ११ फेब्रुअरी देखि १८ फेब्रुअरीबिच फाइनल अन्तर्वार्ताको मिति तोकिएकाले गएको एक साता यस्तै भिड रह्यो ह्यातमा। पूर्व परीक्षा म्यानपावर कम्पनीमै भए पनि अन्तिम छनोटका लागि दुबईबाट रोजगारदाता कम्पनीका मानिस आएका छन्। ह्यात होटलमा उनीहरुले नै अन्तर्वार्ता लिइरहेका छन्। त्यही आफ्नो भाग्यको खोजीमा पुग्नेहरुको ताँती छ। 

तेस्रो दिन पालोको पर्खाईमा रहेका प्रवेशका केही साथीहरुले अन्तर्वार्ता दिइसकेका छन्। केही भने अझै प्रतीक्षामा छन्। ‘यहाँ काम पाउने आशा कतै छैन। त्यसैले जति दु:ख सहन परे पनि उताको लागि ट्राइ त गर्नै पर्‍यो  नि,’ अनिदो रात कटाएपछि उनले भने। 

दुबईबाट १ हजार २ सय मानिसको भ्याकेन्सी आएपछि त्यसका लागि भिड्नेहरु यसैगरी लाममा देख्न पाइन्छ यहाँ। यति धेरै संख्यामा जनशक्तिको माग आएको पनि ५ वर्षपछि हो, फ्री भिसा, फ्री टिकट सहित। खर्च धेरै नलाग्ने भएपछि वैदेशिक रोजगारीमा जानेको भिड लाग्नु स्वभाविक बनेको छ भलै प्रधानमन्त्री ओलीले हरेक भाषणमा देशले व्यापक विकासको दावी नै किन गरिनरहुन्। दुबईको तेल कम्पनीमा इन्धन भर्ने, स्टोर किपर र कफी बनाउन जान्नेहरुका लागि अबसर खुलेकाले मानिसहरु तानिएका हुन्। दैनिक एक हजारभन्दा धेरै मानिसले यहाँ अन्तर्वार्ता दिइरहेका छन्। 

थाहा छैन आज पनि प्रवेश, उनका साथी अथवा गिरिराजले अन्तर्वार्ता दिन पाउँछन् पाउँदैनन्। पाए भने त सम्भावनाकै सहि ,एउटा ढोका पार हुन्छ। नभए उनीहरु फेरि अर्को यस्तो लाममा भेटिने छन्। किनकि कागजी विकासमा देश जति माथि पुगे पनि प्रवेश र गिरिराजहरुले टेक्ने धरातल यही हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more