Blog Post

लाचार सत्ताले निम्त्याएको दर्दनाक दृष्य : मध्यरातको झरीमा रुझ्दै परीक्षणको प्रतीक्षा, ४ दिनदेखि लेमुलहरुको उस्तै दु:खद् दैनिकी

प्रवीण रानाभाट/पहिलोपोस्ट 
23rd September 2020 | ७ असोज २०७७ 

2.2kShares

facebook sharing button 1.8k

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

एक्कासी पानी दर्किन थालिहाल्यो। असोजको पहिलो साता सकिँदै गर्दाको यो रातमा पानीले निथ्रुक्क भिज्नुपर्दा चिसो कति गहिरोसँग बढेछ भन्ने अनुभूति गर्न समय नै लागेन। लुगलुग कमाउने भइसकेछ। यो झरी अझै केही दिन कायम रहने बताइएको छ। यही झरीलाई झेलिरहेका उनीहरु टेकुमा लाइन मिचिएला भन्ने डरले छातामा ओत लागिरहेका छन्। उनीहरु अर्थात् देशका भूइँमान्छे।

बिहानको २ बजेको यो झरीमा म टेकुमा छु। क्यामराको लेन्स सोझ्याउँदै कोभिड १९ को परीक्षणका लागि ज्यान फालेर रातभर रुगिँरेहका उनीहरुलाई देख्दा ती दृष्यहरु झलझली भए – जुन यिनीहरुजस्ता सीमान्तकृतका थिएनन्। पहुँचकै भरमा थ्रोट स्वाब लिन सरकारी खर्चमा नेतादेखि मिडिया हाउससम्म धाउनेहरुले उनीहरुको हालत बुझेको भए मेरा लागि यस्ता दृष्य खिच्नुपर्ने वाध्यता हुने थिएन। र, उनीहरुका कथा बुनिरहनुपर्ने थिएन।

त्यस्तै छ, कथा लेमुलको। कामका लागि वीरगंजबाट आएकी लेमुल नेसालाई आफ्नै डेरा विरानो बन्यो। असोज १ गतेबाट उपत्यका छिर्न पाउने भएपछि बस चढेर पाँच जनाको परिवारसँगै उनी आइतबार काठमाडौं भित्रिइन्। तर, कठोर बन्यो काठमाडौंको व्यवहार। घरबेटीले छिर्न दिएनन्। त्यसपछि नियमित बनेको छ टेकुको ढुकाई। टेकुबाहेकका सरकारी अस्पतालमा पनि कोरोना भाइरस परीक्षण गर्दा शुल्क लाग्छ अहिले। आवतजावत सहज बनाउनासाथ सरकारले कोरोना परीक्षण पनि सशुल्क बनाइदियो। जसले लेमुलको परिवारलाई सकसमाथि सकस थप्यो। पाँच जनाको परिवारको सशुल्क परीक्षण गर्ने हैसियतका भए उनीहरु काठमाडौं नै आउने थिएनन्। भोकले काठमाडौंतिर पठायो, परीक्षण नहुँदा घरको न घाटको जीवन गुजारिरहेका छन् यतिखेर।

https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2FPahiloPostNews%2Fvideos%2F778216932965168%2F&show_text=0&width=560

त्यसैले नेसा परिवारको दैनिकी फेरिएको छ। लेमुलका पति आइतवार यता टेकुमै छन् – कोरोना भाइरसको परीक्षणको प्रतीक्षामा। लेमुल पनि बिहानै ३ बजे टेकु आइपुग्छिन् – आफ्नो लाइनमा जोडिन्। परिवारका बाँकी सदस्य आफन्तको पसलमा बसेका छन्। उनीहरु पनि बिहान भएपछि टेकुमा थपिन्छन्।

‘घरबेटीले रिपोर्ट लिएरमात्र आउन दिन्छु भनेको छ,’ लेमुलले भनिन्, ‘आइतवारदेखि यहाँ लाइनमा बसिरहेका छौं। खोई पालो कहिले आउँछ?’

उनीसँग प्रश्न छ, उत्तर छैन।

छन्न साहको कथा पनि उस्तै छ। बालाजु माछापोखरीमा फलफूल पसल छ उनको। तर, परीक्षण नहुँदा पसलमा जान निषेध। घरबाट आउँदा ल्याएको थोरधेर रकमले भोक मेटिरहेका छन्। राति भने टेकुमै बित्छ।

‘यही पसलमा किनेर खाने हो। पानी परेन भने सडकमै सुत्ने हो। पानी पर्‍यो भने मिलेसम्म ओत लाग्ने,’ छन्नले भने, ‘गरिबका लागि काठमाडौं गाह्रो रहेछ।’

तीन दिन भयो छन्न र उनका साथीको यो दैनिकी। थाहा छैन, आज उनीहरुको भागमा थ्रोट स्वाब दिने पालो आउँछ कि आउँदैन। आयो भने पनि रिपोर्ट कहिले हात लाग्छ? अनिश्चयको चक्रमा कतिन्जेल घुमिरहनुपर्ने हो निश्चित छैन। किनकि उनीहरुको ‘भाग्य’ यतिमात्रै हो।

देशमा प्रधानमन्त्री केपी शर्मा ओली छन् जसलाई धुम्बाराही अथवा पेरिसडाँडासम्म जान मन नलाग्दा पार्टीको बैठक सरकारी निवासमै बस्ने सुविधा छ। र, उनकै शासनकालमा यी निरीह मानिसहरु छन् जसले अनिँदो रातमा झरीमा रुझेर संघर्ष गरिरहेका छन्। कुनै बेला यी दृष्यहरुलाई प्रधानमन्त्री ओलीले ‘प्रायोजित’ भनिदिन पनि सक्छन्। किनभने समाजवादी शासनको सपना देखाउनेहरुले भुईँमान्छेको हालतलाई लिएर पटकपटक यस्तो अभिव्यक्ति दिइसकेका छन्।

शीर्ष नेता, सांसददेखि पार्टीका कार्यकर्तासम्म नि:शुल्क पहुँचमा रहेको पीसीआर परीक्षण सीमान्तकृतका लागि दुर्लभ विषय बन्दै जाँदा राजधानीमा कोरोनाको कहर भने गहिरिँदो छ। रोगको त्राससँग भोकसँग लड्न नसक्दा वाध्य भएर काम खोज्दै राजधानी भित्रिएकाहरुसँग खल्तीमा दाम हुँदो हो त यसरी मध्यरातमा भोलिको उज्यालो प्रतीक्षा गर्दै बस्ने थिएनन्। सत्ता वा कुनै राजनीतिक दलसँग पहुँच हुन्थ्यो भने यिनीहरु यहाँ देखिने थिएनन्।

यहाँ थोरै भाग्यमानी पनि छन् अभागीहरुकै बीच। भाग्यमानी यसअर्थमा हुन् कि उनीहरु अभागीहरुकै बीचमा पनि थोरै सुविधा लिन पाउने अवस्थामा पुगेका छन्। अर्थात् अस्पतालको कम्पाउन्डभित्र छिर्न सकेकाहरुले फाट्टफुट्ट टुटेफुटेका टेबुललाई आश्रयस्थल बनाएका छन्। एटीमएम बुथमुनि शिर लुकाउन पाएका छन्। पानीबाट बचेका यिनीहरु टेकु परिसरका ‘भाग्यमानी’ हुन्। त्यसपछि सडक किनारका सटरमा टाँसिएर पानीबाट जोगिनेहरु देखिन्छन्। ओतको सहारा केही नपाएकाहरु झाडीमुनि र कोही छातामुनि रात गुजिरहेका छन्।

यो पङ्तिमा नेपालीमात्र छैनन्, भारतीयहरु पनि उत्तिकै संख्यामा छन्। सरकारी भाषामा सीमा बन्द छ। तर, निर्वाध रुपमा उनीहरु काठमाडौंमा आइपुगेका छन्।

एक साता भयो यहाँ यस्तो दृष्य देखिन थालेको। प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारले कहिले यी भुइँमान्छेका दृष्य देख्छ र त्यसलाई नियोजित ठान्दैन, त्यो दिन पक्कै परिवर्तन हुनसक्ला। तर, तत्काललाई यी दृष्यहरु हेरेर विचरा भन्नुबाहेक के नै गर्न सकिन्छ र?

दृष्यले देशको कथा कसरी बताइरहेको छ? एटीएम बुथमुनि यी मानिसहरु लालाबालासहित छन्। चार दिनपछि अस्पताल कम्पाउन्डभित्र ओत लाग्न पाउने यिनीहरु ‘भाग्यमानी’ नागरिक हुन्।
अस्पताल परिसर भित्र छिर्न पाउने अर्का ‘भाग्यमानी’ नागरिक जसको बिछ्यानौ बनेको छ पत्रिका। यिनी मध्यरातको झरीबाट बचेका छन्, बाँकी हाल दृष्यले बताइरहेछ।
यिनीहरु न एकै परिवारका हुन् न यिनीहरुले सामाजिक दुरी नै पार गरेका छन्। आज यिनीहरुले थ्रोट स्वाब देलान्। परीणाम पनि आउला तर यही संक्रमण नसर्ला? यहाँबाट उनीहरु डेरामा गएपछि हालत के होला?
भाग्यमानी भुइँमान्छे। ओत लाग्न पाउनु र टेबुलमा सुस्ताउन थोरै भए पनि राहत नै हो। 
यो दृष्यले भोलिको कोरोना कहरको सम्भावनालाई देखाइरहेछ।
सडक पेटीमा सुतेरै जारी छ प्रतीक्षा।
देशको दृष्य।

2.2kShares

facebook sharing button 1.8k

twitter sharing button 430

pinterest sharing button
email sharing button
sharethis sharing button

https://www.facebook.com/v2.8/plugins/comments.php?app_id=226400844478478&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df2d7dd5959200d8%26domain%3Dpahilopost.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fpahilopost.com%252Ff16a560a18cf31c%26relation%3Dparent.parent&container_width=904&height=100&href=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20200923080412.html&locale=ne_NP&numposts=5&sdk=joey&version=v2.8&width=550

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more