प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट
16th November 2019 | ३० कात्तिक २०७६
1.1kShares
1k
पोखरा भन्नेवित्तिकै यौटा सुन्दर घुम्ने ठाउँको झल्को मनमा आइहाल्छ। फेवा ताल, बेगनास ताल अनि सुन्दर माछापुछ्रे हिमाल होस् या साराङकोट। एकै पटक सबैको मानसपटलमा खेल्न थाल्छ। तर, यसपाला म तपाईँहरुलाई पोखराको फरक यात्रा गराउँदैछु। आउनुस् यात्रामा यहाँलाई म प्रवीन रानभाट तपाईँहरु सबैको स्वागत गर्छु।
मेरो घर तनहुँ। पोखरा पुग्न घरबाट यस्तै एक घन्टाको मात्र दुरी तय गरे पुग्छ। सधैं विदाको बेलामा घर जाँदा रमणीय पोखरा नपुगी चित्तै बुझ्दैन। हरेकपटक पोखरा जाँदा उत्सुक नै भइरहन्छु। यसपाला त्यो उत्सुकतामा केही तौल बढी नै थपिएको थियो जुन यहाँहरुसँग सेयर हुँदैछ।
यसपाला पोखरा जाँदा फेवाताल, वेगनास, माछापुछ्रे वा सराङकोटमात्र कारण थिएन। विशेष कारण थियो मेरा लागि। सोसल मिडियामा रोहितको डरलाग्दो सर्प समाउने कला देखेको म उनीबारे थप जान्न चाहन्थे। उनको बारे सुनेको पनि धेरै नै थिए। अब प्रत्यक्ष बुझ्ने रहरले मलाई पोखरातिर खिचिरहेको थियो जसरी त्यहाँको सुन्दरताले हरेक पटक मलाई सम्मोहन गरिरहेको हुन्छ।
नाम : रोहित गिरी
उमेर : २१ वर्ष
ठेगाना : छोरे पाटन १७, पोखरा।
रोहित दुब्ला छन्, त्यसैले साथीहरुले बोलाउँदा भन्दा रहेछन् ‘लुरे’। लुरे नाम यतिखेर पोखरामा चर्चित भइसकेको छ।
पोखरामा कहीँ कतै सर्प देखियो भने आजकल सुरुमै भन्छन् – लुरे रोहितलाई बोलाउँ।
सर्प देखेपछि मानिस डराउँछन्। डर त सर्पलाई झन् बढी लाग्ने रहेछ। दुवैको डरैडरमा मानिसहरु अलि बढी नै आक्रमक हुने गर्छन्। र, घाइते बनाउँछन् सर्पलाई। रोहित त्यस्ता घाइते सर्पको उद्धारका लागि सधैं खटिन्छन्।
१२ वर्षको हुँदा उनी पढ्ने विद्यालयको पुस्तकालयमा रहेको एउटा सर्पको उद्धार गर्ने विषयमा लेखिएको पुस्तकले उनलाई तान्यो। उनले किताब छिचोले। एक पटक उनको छिमेकीको घरमा हरेउ छिर्यो। विद्यालयमा सर्पको उद्धारको किताव पढेकाले उनले हिम्मत जुटाए र सर्पलाई निकाले। यो सर्प उद्धारको पहिलो अनुभव हो उनको।
रुखपात र हरियोमा रहने हरियो नै रङको हरेउ उद्धारबाट सुरु भएको उनको यो प्रयास ५ सय भन्दा बढी सर्पहरुको उद्धार गरिसक्दा पनि उत्तिकै जोश र जाँगरसहित जारी छ।
संसारमै लामो र विषालु सर्पका रुपमा चिनिने किङ कोब्रा समाउन जाँदाको अनुभव उनले सुनाउँदा म दंग परेँ।
‘एघारको परीक्षा चलिरहेको थियो। पोखराबाट ६५ किलोमिटर टाढाको स्याङ्जाबाट फोन आयो,’ उनले कोब्रा उद्धारको कहानी थाले, ‘हप्ता दिनसम्म पनि घर नजिकै घुमिरहने सर्पको फोटो हेर्दा थाहा भयो किङ कोब्रा।’
तर, सबै डराउने विषालु सर्प कोब्रा यसअघि उनले समातेका थिएनन्। पहिलो पटक कोब्रा समाउने पुगेका उनीसँग समाउन कुनै हुकसमेत थिएन। बाँसघारी र ढुङ्गाको छेल परेर बसेको कोब्रा सानो होला भन्ने लाग्यो उनलाई। अनि सोझै हातैले तान्न पो खोजे। ‘यसो के तानेका थिए – सर्प रहेछ लामो र डरलाग्दो। सर्प निकाल्न गएको म आफैँ डरले बारीको पाटैपाटो भागेँ,’ उनले सुनाए।
पछि फेरि लठ्ठी लिए र त्यसैको सहयोगमा सर्प समाते। सर्पलाई पोखरा ल्याउँदा यति डराएका थिए कि उनले त्यो सर्पलाई पाँचवटा बोरामा राखेका थिए – निस्केला कि भन्ने डरले।
किताब पढेर सर्प उद्धार गर्न थालेका उनी नेसनल जियोग्राफी च्यानल हेर्दैं सर्पको उद्धार कसरी गर्न सकिन्छ थप सिक्न थाले। त्यहाँ रेस्क्यु गर्नेले क्यामरा पनि चलाएको देखेपछि उनलाई पनि त्यसकै रहर लाग्यो। सर्पको उद्धारसँगै सर्पको फोटोग्राफी। आजकल उनी सर्पको उद्धार गर्न जाँदा स्टिक र क्यामरा पनि सँगै बोकेर हिँड्छन्। यसले उनको उद्धार कार्यमा रोमाञ्चकता थपेको रहेछ।
जतिसुकै विषालु होस्, उनी सर्प समाउन हच्किन्नन्। रोहितले नेपालमा पाइने सबै प्रजातिका विषालु र विषरहित सर्पलाई सहजै छुट्याउन सक्छन्। सर्पबारे उनले ज्ञान धेरै हासिल गरेका पनि छन्। जति जाने लजालु स्वभावको हुने भएकाले उद्धार गर्दा सर्पले नै डस्न आक्रमण गरिहाल्छ। उनकै भनाइलाई मान्ने हो भने अहिलेसम्म सयभन्दा धेरै पटक सर्पको टोकाइ बेहोरिसकेका छन् उनले।
उनले उद्धार गरेर ल्याएको कोब्राको विष आँखामा पर्दा आइसीयूमै राखेर उपचार गर्नुपरेको थियो उनको। उनले विष छोप्न खोज्दा उछिट्टिएर आँखामा परेको थियो। यति हुँदा पनि उनी हार नमान्ने खालका।
पहिले पहिले घर नजिकमात्र उद्धार गर्ने रोहित अहिले भने अन्य जिल्लातिर पनि धाउँछन्। विभन्न ठाउँबाट सर्प भेटिएको फोन आएपछि उनी दौडिहाल्छन् – उद्धारका लागि।
रोहित यतिखेर बायोलोजीमा बीएस्सी गर्दैछन्। सर्पसँगै खेल्ने उनले भ्यागुता र छेपाराको बारेमा पनि अध्ययन गरिरहेका छन्। रोहितसँगै उनका भाइ रोशन गिरी पनि सर्प समाउँदा सघाउँछन्। तीन वर्ष यता दाजुभाइ नै सर्प समात्न हिँडिरहेका छन्।
‘म नभएको बेला भाइले गएर सर्पको उद्धार गर्न थालेको छ,’ रोहितले भने।
रोहितले सर्प समात्दाका रोमाञ्चक क्षणहरु बताइरहँदा एक्कासी फोन बज्यो।
‘सर्प भेटियो, आइदिनु पर्यो।’
रोहितका लागि आएको टेलिफोन कल मेरा लागि पनि रोमाञ्चक विषय थियो। मानौं, बादलले ढपक्कै ढाकिँदा लुकेको माछापुछ्रेको सौन्दर्य एक्कासी आकाश खुल्दा झै भएको थियो मलाई।
त्यसैले अलमल नगरी हामी लाग्यौं सर्पको उद्धार गर्न। सडकमा घाइते अवस्थामा रहेको सर्पलाई भेटे भने पनि उनले उद्धार गर्ने रहेछन्। उनले त्यस्ता सर्प उठाउँदा रहेछन् र घरमा लगेर उपचार गर्दा रहेछन्। कुनै सर्प मरेको रहेछ भने त्यो स्कुल र कलेजका विद्यार्थीका लागि अध्ययन गर्न उपलब्ध गराउँदा रहेछन्।
लगभग ३० मिनेट यात्रापछि सर्प भएको ठाउँमा पुगियो। त्यहाँ सबैजना रोहितलाई नै कुर्दै बसेका रहेछन्।
‘हरेउ सर्प रहेछ। यसलाई सजिलैसँग समाताएर नजिकैको जंगलमा लगेर छोड्नुपर्छ,’ रोहित भन्दै थिए।
उनले सजिलै सर्प टिपे र झोलामा हाले।
सर्प उठाउने मात्र होइन, समाइसकेपछि त्यसबारे त्यहाँ भएका मानिसहरुलाई जानकारी पनि दिने रहेछन्। सर्पलाई किन मार्न हुँदैन भन्दै बुझाउँदा रहेछन्। सर्पले कसरी मानिसहरुलाई सहयोग गरिरहेको छ भन्ने बुझाउँदा रहेछन्। सर्पले अन्नबालीको नोक्सानी गर्ने मुसालाई खाएर किसानलाई ठूलो सहयोग पुर्याउँछन्।
विष लाग्ने सर्प र नलाग्ने सर्पबारे पनि उनीहरुलाई व्याख्या गर्ने रहेछन्।
सर्पको खोजीमा मेचीदेखि कर्णालीसम्मको यात्रा गरिसकेका रहेछन् उनले। सर्पलाई अन्य वन्यजन्तुलाई जस्तै गरी संरक्षणका लागि सरकारले पहल गर्नुपर्ने बताउँछन्।
अब हामी उनीसँगै समाएको त्यो सर्पलाई जंगलमा छोड्न पुग्यौं। उनले सर्प छोडिरहँदा मैले पनि केही फोटोहरु खिच्ने मौका पाएँ। यो अवसर नै थियो मेरा लागि।
1.1kShares
1k
60
Insights, updates, and stories from the blog.
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५ 750Shares 738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…
Learn more